सार्वजनिक पछिल्लाे रिपोर्टमा चर्चसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसँगै नेपालका तीन पूर्वप्रधानमन्त्री (एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराई) जाेडिएका तथ्यहरू उल्लेख छन् ।


काठमाडौँ — पछिल्लो साता युनिफिकेसन चर्चको नेपाल कनेक्सनका बारेमा विभिन्न समाचार सार्वजनिक भएपछि यो प्रकरणबारे आम मानिसकाे चासो बढेको छ । युनिफिकेसन चर्च के हो ? यो कसरी नेपालसँग जोडिन पुग्यो र यो तथ्य अहिले कसरी सार्वजनिक भयो ? हामीले यि र यस्तै तथ्यहरुलाई पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
युनिफिकेसन चर्च के हो ? यो कसरी प्रख्यात भयो ?
दक्षिण कोरियाली नागरिक म्योङ मुनले सन् १९५४ मा को युनिफिकेसन चर्चको स्थापना गरेका थिए । यस अन्तर्गत विभिन्न संस्थाहरु छन् । मुनको मृत्युपछि उनीकी पत्नी हाक जा हान यसको नेतृत्वमा आइन् । ८२ वर्षीया हानले आफूलाई परमेश्वरकी एक्ली छोरीको रुपमा चिनाउँछिन् । विभिन्न जोडीहरूलाई सामूहिक विवाह गराइदिने कामबाट हानले चर्चा बटुलिन् ।
धर्म, विश्व शान्ति र परिवारवादको जगेर्ना गर्ने नारासहित विश्वभर युनिफिकेसन चर्चका शाखाहरू खडा गरिरहेकी हानको प्रभाव धार्मिक गतिविधिमा मात्रै सीमित छैन । राजनीति, रियल स्टेट, सञ्चारमाध्यम, शिक्षा र विलासी सामग्रीहरूको व्यापारमा पनि उनको सञ्जाल फैलिएको छ । अमेरिकाको वासिङ्टन टाइम्स नामक पत्रिकाको स्वामित्व चर्चकै नाममा छ । म्यानहट्टनस्थित न्यु योर्कर होटल, प्योङचाङस्थित योङप्योङ स्कि रिसोर्ट (जहाँ २०१८ को विन्टर ओलम्पिकका खेल भएका थिए), चिओङसीमा अन्तर्राष्ट्रिय एकेडेमीलगायत संस्थान यसको स्वामित्वमा छन् ।
फेब्रुअरी २०२० मा पति तथा युनिफिकेसन अभियानका संस्थापक सन म्योङ मुनको १०० औं जन्मजयन्ती मनाउने क्रममा सम्मेलन गर्दै गियोन्जी प्रान्तको गोयाङस्थित इल्सान सहरमा मानिसलाई आमन्त्रण गरेकी थिइन् । कोरोना कहर बेवास्ता गर्दै सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुनसहित एक सय ७१ भन्दा धेरै देशका विशिष्ट पाहुना सहभागी थिए । सयभन्दा धेरै देशबाट पूर्वराष्ट्रप्रमुख, विधायक, धार्मिक नेता वा व्यावसायिक घरानाका उच्च पदस्थ सहभागी भए । सहभागीको संख्या सात हजारभन्दा धेरै थियो । हानको ७७ औं जन्मदिन तथा ६० औं वैवाहिक वर्षगाँठ पनि यही समारोहमा मनाइएको थियो ।
हानले चर्चका नाममा विभिन्न ठाउँमा पूर्वाधारहरू खडा गर्न लगाइएकी छन् । विशेषगरी गियोन्गी प्रान्तस्थित गाप्योङमा (जांगराक पहाडको फेदी) चर्चको आलिसान कम्प्लेक्स छ । कम्प्लेक्स अगाडि ४.३ फिट अग्लो हानको सालिक छ । त्यसैगरी सियोलनजिक भव्य चिओनवन दरबार बनाइएको छ । स्थानीय मिडियाका अनुसार यसको निर्माणका क्रममा कम्तीमा ६ सय ११ दशमलव २ मिलियन अमेरिकी डलर खर्च भएको थियो ।
